रियाल मड्रिड लगातार सातौं पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा
helambu fm
बैशाख ६ एजेन्सी । स्पेनिश फुटबल क्लव रियाल मड्रिड च्याम्पियन्स लिग फुटबलको लगातार सातौं पटक सेमिफाइनलमा पुगेको छ ।जर्मन क्लव बायर्न म्युनिखमाथि शानदार जितका साथ रियाल मड्रिडले सेमिफाइनलमा ठाउँ बनाएको हो ।पहिलो लेगमा बायर्नको मैदानमा २–१ को जित निकालेको रियालले मंगलबार राति घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको दोस्रो लेगमा ४–२ को जितसंगै एग्रिगेटमा ६–३ को अन्तर बनाएको हो ।
रियालको जितमा क्रिष्चियानो रोनाल्डोले ह्याट्रिक गरे ।
निर्धारित ९० मिनेटसम्मको खेलमा बायर्न म्युनिखले २–१ ले अग्रता लिएसंगै खेल निर्णायक बनाउन अतिरिक्त समयमा धकेलियो ।त्यसपछि भने रोनाल्डोले दुई तथा मार्को एसेन्सियोले एक गोल थपेर रियाललाई जिताए । यसअघि मध्यान्तरसम्म गोलरहित बराबरी खेलेको बायर्नले ५३ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको पेनाल्टीबाट अग्रता लियो । ७६ औं मिनेटमा रोनाल्डोले बराबरी गोल गरे ।
७८ औं मिनेटमा सर्जियो रामोसले आत्मघाती गोल गरेपछि बायर्नले अग्रता लिने अवसर पायो । तर ८४ औं मिनेटमा आर्तुरो भिडालले दोहोरो पहेंलो कार्ड खाएपछि बायर्न दबाबमा आयो ।च्याम्पियन्स लिगको अर्को खेलमा स्पेनकै अर्को क्लव एथलेटिको मड्रिड पनि सेमिफाइनलमा पुगेको छ ।
पहिलो सहभागीतामै क्वार्टरफाइनलमा पुगेको इङलिश क्लव लेस्टर सिटीलाई एग्रिगेटमा २–१ ले हराउँदै एथलेटिको सेमिफाइनलमा पुगेको हो ।
पहिलो लेगमा १–० ले हारेको लेस्टरले मंगलबार राति घरेलु मैदानमा १–१ को बराबरी खेल्यो ।२६ मिनेटमा एथलेटिकोका सउल निग्वेजले गोल गर्दै अग्रता दिलाए । ६१ औं मिनेटमा जमाइ भार्डीले गोल गर्दै लेस्टरलाई बराबरीमा ल्याउँदै रोमाञ्चक स्थिति बन्यो । तर त्यसपछि लेस्टरले गोल नगर्दा बाजी एथलेटिकोले मार्न सफल भयो ।