यो वर्षभित्रै सिन्धुपाल्चोकका सबै गाउँमा इन्टरनेट
helambu fm
मंसिर २५ चौतारा । यही वर्ष जिल्लाका सबै गाउँमा इन्टरनेटको पहुँच पु¥याउने महत्वाकांक्षी योजना अघि सारिएको छ । सिन्धुवासी अझैसम्म पनि सूचना र प्रविधिको क्षेत्रमा पछाडि परेको निष्कर्ष निकाल्दै कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ (क्यान)ले यस्तो योजना ल्याएको हो ।इन्टरनेट प्रदायक संस्था वल्र्ड लिंकको सहयोगमा पहिलो चरणमा जिल्लाका १० गाविसलाई वाईफाई जोन बनाइसकिएको छ । यसअघि चौतारा र मेलम्ची नगरपालिका, बाह्रविसे, खाडीचौर, जलवीरेवासी इन्टरनेटको पहुँचमा थिए ।
जिल्लाका विकट गाउँमा रहेका बासिन्दालाई कम्प्युटर, इन्टरनेट, ईमेलबारे जानकारी नभएपछि ‘गाउँ–गाउँ सञ्चार अभियान’मार्फत जिल्लाको सबै ठाउँमा इन्टरनेट पु¥याउन लागिएको क्यान सिन्धुपाल्चोकले जनाएको छ । हालै भएको क्यानको वार्षिक साधारणसभाले यो योजना सार्वजनिक गरेको हो । योजनाअन्तर्गत जिल्लाका १० गाविसमा वाईफाई सेवा विस्तार गरिसकिएको छ ।
हालै धुर्मुुस सुन्तली फाउण्डेसनद्वारा निर्मित गिरानचौर एकीकृत नमुना बस्तीलाई मंसिर महिनाभित्र सूचना मैत्रीसमेत बनाइन लागिएको छ ।
“जिल्लाका ५० भन्दा बढी गाविसमा सञ्चार सुविधा शून्य छ । त्यसैले हामी सबै गाविस र नगरमा इन्टरनेटको पहुँच पु¥याउने अभियानमा छौं,” क्यान सिन्धुपाल्चोकका सचिव हरिचन्द्र गौतमले भने, “यो हाम्रो पहिलो योजना हो ।”
जिल्लाको बतासे, जलवीरे, फुल्पिङकोट, कुविण्डे, इर्खु कदमबास, सानोसिरुवारी, ठूलोसिरुवारी, कुञ्चोकमा इन्टरनेट जडान गरिसकिएको जानकारी उनले दिए । वल्र्ड लिंकको सहयोगमा गाउँवासीलाई सूचनाको पहुँचमा पु¥याउन लागिएको हो । जिल्लामा अहिले ६८ गाविस र २ नगरपालिका छन् ।
अभियानअन्तर्गत क्यानले हरेक गाउँमा कम्तीमा एउटा कम्प्युटर पु¥याउने लक्ष्य राखेको छ । विदेश या नेपालभित्रै रहेका आफन्तलाई सहज र सस्तो तरिकाबाट फोन गर्न गाउँवासीलाई तीन घण्टाभन्दा बढीको पैदल हिँड्नुपर्ने बाध्यता छ । गाउँवासीलाई सजिलो र इन्टरनेटबारे जानकारी दिने उद्देश्यले यो अभियान सुरुआत गरिएको हो ।
“गाउँमा कम्प्युटर पु¥याएर इन्टरनेट जडान गरिनेछ । त्यसपछि हरेक गाउँका कम्तीमा एक जनालाई त्यस सम्बन्धी तालिम दिनेछौं,” क्यान सिन्धुपाल्चोकका अध्यक्ष प्रभात श्रेष्ठले भने, “एक गाविसका एक जनालाई सूचना, सञ्चार र कम्प्युटर सम्बन्धी विशेष तालिम दिएपछि गाउँवासीलाई प्रयोगका निम्ति सहज हुनेछ ।”
यो अभियान पूर्ण भइसकेपछि सूचना र प्रविधिमा सिन्धुपाल्चोक नेपालकै नमुना हुने दाबी उनले गरे । “अब छिट्टै सिन्धुपाल्चोकका सबै गाविसमा इन्टरनेट पुग्नेछ,” अध्यक्ष श्रेष्ठले भने, “सडकले जोड्न नसक्ने विकास सञ्चारले गर्छ ।” उनका अनुसार प्रविधिले मानिसको जीवनशैलीसमेत परिवर्तन हुने भएकाले यो अभियानले जिल्लाको विकासमा महत्वपूर्ण स्थान राख्नेछ ।
सूचना र सञ्चारको क्षेत्रमा जिल्ला अगाडि बढे विकास निर्माणमासमेत सहयोग पुग्ने क्यानको दाबी छ । “अहिले सबै काममा सञ्चार जोडिन्छ,” क्यानका अध्यक्ष प्रभातले भने, “यसका लागि सबै सिन्धुवासी एक भएर लाग्नुपर्छ ।”
क्यानले अघि सारेको यो योजना हेर्दा सहज देखिएपनि कार्यान्वयनमा निकै चुनौती र समस्या छ । यो अभियानअन्तर्गत गत वर्ष कुविण्डेमा सूचना प्रविधि केन्द्रसमेत स्थापना गरिसकिएको छ । “अभियानलाई सार्थक बनाउन आर्थिकलगायत विभिन्न समस्या छन्,” क्यानका कोषाध्यक्ष निर्जन श्रेष्ठ भन्छन्, “यसका लागि विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय, मन्त्रालय, क्यान केन्द्रीय समितिलगायतसँग सहयोगका लागि आह्वाान गरिनेछ ।”
सबै सिन्धुवासी जागरुक भएमा यो अभियानले छिट्टै पूर्णता पाउने उनले बताए । जिल्लाका सबै गाविस र विद्यालयमा इन्टरनेट पु¥याई परम्परागत शैलीमा चलिरहेको शिक्षा, कृषि, पर्यटन आदि क्षेत्रमा आधुनिकता ल्याउने उद्देश्यअनुरूप अभियान सुरु गरिएको क्यान सिन्धुपाल्चोकले जनाएको छ ।
क्यानले आगामी वर्ष जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालय र व्यक्तिको समेत निःशुल्क कम्प्युटर मर्मत गर्ने, कम्प्युटरमा भाइरसबाट बच्न तालिमको आयोजना गर्ने, विज्ञान तथा प्रविधि सम्बन्धी नियमित कार्यक्रम गर्ने, विज्ञान प्रविधिको प्रदर्शनी गरेर जिल्लालाई सूचना र प्रविधिमा नमूना जिल्ला बनाउनेसमेत जनाएको छ ।